यि हुन् एक कक्षा पनि नपढेका १० पुस्तकका लेखक



मनाङ, १९ भदौ । मनाङका ७९ वर्षीय डिल्लीजङ तमु अझै पनि किताब लेख्दै छन् । औपचारिक शिक्षामा कक्षा १ पनि अध्ययन नगर्नुभएका तमुले १० वटा पुस्तक प्रकाशन गरी सकेका छन् ।


धारापानी गाविस नाचैका तमुले १० पुस्तक प्रकाशन गर्नका लागि अध्ययन भने कम्ती गरेका छैनन् । तत्कालीन पञ्चायतको कारण अध्ययन गर्न नपाएको बताउने तमुले तमु संस्कृतिको खोज तथा अध्ययनका लागि धेरै पहाड चढ्नु परेको बताउछन् । “मैले पढेको छैन, तर अध्ययन गरेको छु,” उनी भन्छन्, “भाषा, लिपि, संस्कृतिको खोजी गर्दै देश–विदेश पुगेको छु, तत्कालीन समयमा त्यो सजिलो थिएन ।”

उनी भन्छन् , “इतिहासको जरो भेट्टाउन सजिलो भएन, धेरै पुस्तक पढेँ, धेरै बुढापाकालाई भेटे, पुरोहितहरुसँग सङ्गत गरेँ, परिणाम पुस्तक लेख्न सफल भएँ ।” अध्ययन सँगै विभिन्न स्थानमा भाषा, संस्कृतिको बहस गर्दा धेरै विरोध सहनु परेको उनी बताउछन् । “तमुहरुको लिपि छैन भन्ने पत्ता लगाउने म हुँ”, उनी भन्छन्, “यो विषयमा बोल्दा मेरो धेरै आलोचना भयो तर यथार्थ यही नै थियो ।” पछिल्लो समय मात्रै अन्य बौद्धिक तमुले आफूलाई बिश्वास र समर्थन गरेको उनको भनाइ छ । आफ्नो जातीय पहिचानको संरक्षणका लागि लेखेर सङ्घर्ष गरिरहनुभएका तमुले तमु जातिको इतिहास, धर्म संस्कारका बारेमा विभिन्न पुस्तक लेखिसकेका छन् । २०४२ सालमा पहिलोपल्ट तमु नेपाली अङ्ग्रेजी शब्दावली प्रकाशन गरेका उनले २०७१ सालसम्म १० वटा पुस्तक प्रकाशन गरिसकेका छन् ।

उनले प्रकाशन गरेका पुस्तकमा तमु जातिको वंशावली, धर्म, संस्कृति, इतिहासका महत्वपूर्ण विषयवस्तु समेटिएका छन् । उनले प्रकाशन गरेका पुस्तक अहिले उच्च शिक्षा अध्ययन गर्नेले सहयोगी पुस्तकका रुपमा लिने गरेको बताउँछन् । उनले लेखेका पुस्तक विभिन्न विश्वविद्यालयले समेत आफ्नो पाठ्यक्रममा राख्न खोजेको तमु बताउछन् । “मैले लेखेका पुस्तकहरु विश्वविद्यालयको पाठ्यक्रममा समावेश गर्ने कुरा थियो, तर मेरा पढाइ नभएर पुस्तकले स्थान पाएन”, उनी भन्छन्, “अहिले सहयोगी पुस्तकका रुपमा प्रयोग भएका छन् ।”

देश–विदेशबाट उनका पुस्तकको माग भएको उनी बताउछन् । उच्च शिक्षा लिनेदेखि आफ्नो जातीय संस्कृतिको संरक्षण तथा पहिचान खोजमा लागेकाले उहाँका पुस्तक लिने गरेको उनको भनाइ छ । पहिचान संरक्षणमा लागिपरेका तमु सामाजिक कार्यमा पनि अगाडि छन् । आफूले औपचारिक अध्ययन गर्न नपाएका तमुले आफ्नो पहलमा मनाङमा एउटा विद्यालयको स्थापना गरेका छन् । मनाङको एक गुम्बामा स्कुल संस्थापक बनेका तमुले मनाङकै थोँचेमा पनि अर्को विद्यालय स्थापनाका लागि पहल गरे । फलस्वरुप थोँचेमा एउटा माध्यमिक विद्यालय रहेको छ ।

डिल्लीजङको पनि राजनीति गर्ने शोक थियो । “म राजनीति गर्न चाहन्थेँ तर मुलुकको पछिल्लो राजनीतिबाट दिक्क भएको छु, अब कुनै इच्छा छैन ।” तमु जातिको भाषा, धर्म, संस्कृति जगेर्ना गर्न आफ्नो जिन्दगी सुम्पिनुभएका डिल्लीजङले आफ्नो समुदायबाट १५ भन्दा बढी सम्मान पाएको छ । देश–विदेशमा रहेका तमु जातिसम्बन्धी दर्जनभन्दा बढी सम्प्रदायले उच्च सम्मान उहाँलाई गरेका छन् ।

लेखेर नथाक्ने डिल्लीजङ तमुले आफ्नो कर्तव्यलाई निरन्तरता दिइरहेका छन् । अब छिट्टै नै अर्को पुस्तक प्रकाशनको तयारीमा रहेको उनी बताउछन्। “सास रहेसम्म तमु जातिको भाषा, धर्म, संस्कृतिको संरक्षणका लागि जे सक्छु गर्छु”, उनी भन्छन्, “म मरेर गए पनि मेरो योगदान मर्नेछैन, इतिहास मर्ने छैन ।” रासस

No comments

Powered by Blogger.