विश्व शक्ति राष्ट्रप्रमुख ओबामा र पुटिनबीच एक घण्टा लामो वार्ता, के सहमति भयाे?



चीन–विश्व अर्थतन्त्रका २० प्रमुख राष्ट्रको समुह ‘जी–ट्वान्टी’ सम्मेलनका सिलसिलामा चीन पुगेका अमेरिकी राष्ट्रपति बाराक ओबामा र उनका रसियाली समकक्षी भ्लादिमिर पुटिनबीच सोमबार भेटवार्ता भएको छ ।दुई विश्व प्रसिद्ध नेताबीच भएको करिब एक घण्टा लामो भेटवार्ता भएको र यो उनीहरुबीच वार्ताका लागि अपेक्षा गरिएको समयभन्दा लामो बन्न पुगेकोे रसियाली प्रशासन केन्द्र क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताए।

उनीहरुबीच सिरिया र युक्रेन द्वन्द्व समाधानमा रसियाली तथा अमेरिकी पक्षबाट खेल्न सकिने मध्यस्थ भूमिकाका बारेमा छलफल भएको प्रवक्ता पेस्कोभले बताए । उनले छलफल सकारात्मक रहेको बताउँदै सिरिया र युक्रेनबीच देखिँदै आएको द्वन्द्व छिट्टै समाधान हुनेमा रसिया आशावादी बनेको बताए । 

यसैबीच, अमेरिकी सञ्चारमाध्यमले ओबामा प्रशासनका अधिकारीलाई उद्घृत गर्दै दुई नेताको वार्ता सिरियामा जारी द्वन्द्व अन्त्य गर्न असफल भएको भए पनि द्वन्द्व अन्त्य गर्ने प्रयास जारी रहने बताएका छन् ।

दुई नेताले आफ्ना उच्च कुटनीतिज्ञलाई छिट्टै (सम्भवत यसै हप्ता) वार्तामा फर्किन आग्रह गरेको दुवै देशका अधिकारीले बताएका छन् । रसिया तथा अमेरिकाले सिरिया र युक्रेन द्वन्द्व समाधानका लागि यसअघि पनि पहल गरेका थिए तर उक्त प्रयास सफल हुन सकेको थिएन ।

यसै प्रसङ्गमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले दुई पक्षबीच अझै धेरै भिन्नता देखिए पनि वार्ताले सफल मोड लिने सम्भावना रहेको बताएका थिए।

चीनको पूर्वी सहर हाङझाउमा आइतबार अमेरिकी विदेशमन्त्री जोन केरी र उनका रसियाली समकक्षी सर्गेइ लाभरोभबीच भएको वार्ता कुनै निष्कर्षमा पुग्न नसकेपछि सोमबार बिहान पुनः बस्नेगरी टुङ्गिएको थियो ।

अमेरिकी विदेशमन्त्री केरीले आइतबार राति एक दुई तर जटिल मुद्दाबारे पुनःमूल्याङ्कन गरी सोमबार पुनः भेट्ने योजना भएको बताएका थिए। उनले जटिल मुद्दा के हुन् भन्नेबारे केही बताउन चाहेनन्।

No comments

Powered by Blogger.