प्रधानमन्त्री दाहालको निर्देशनपछि अनुगमनबाट जफत गरिएका अखाद्य वस्तु नष्ट



काठमाडौं, १९ भदौ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमन टोलीबाट जफत गरिएका खान अयोग्य एवं म्याद गुज्रेका बस्तुहरु काठमाडौंको सुन्दरीघाटमा आइतवार नष्ट गरेको छ ।

सो विभाग र सो विभागसँगको सम्बन्धनप्राप्त नियमन निकायहरुको समन्वयबाट जफत गरिएका विभिन्न १२ सेक्टर अर्थात डेरी, पानी, निर्माण सामग्री, मिठाई, माछा, मासुजस्ता वस्तु नष्ट गरिएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले रासस प्रतिनिधिलाई जानकारी दिए । त्यसमा १० हजार ५०।४ केजी मासु, पीठो, दाल, गेडागुडी, ग्रोसरी आइटम, चकलेट, क्रिम पाउडर, चाउचाउ आदि छन् । उनका अनुसार एउटै बिग मार्केटबाट मात्र करिब २३ लाख मूल्य बराबरको खाद्य सामग्री जफत गरिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि वाणिज्य तथा आपूर्ति मन्त्री दीपक बोहराको अगुवाईमा गत साउन ३१ गतेदेखि भदौ १७ गतेसम्म १२ वटा सेक्टरमा विभागले अनुगमन गरेको थियो ।


अनुगमनकाक्रममा भाटभटेनी फुड प्रोडक्ट प्रालि, ठूलठूला बिगमार्ट तथा विभिन्न पसलबाट ४०७ वटा अनुगमनका काम भएकोमा ४६ जना व्यवसायीको व्यवसाय सील गरेको, २०८ वटा पानीका जार जफत गरेको र युनाइटेड डिस्ट्रिव्युटर्सबाट ५ हजार ५२० बोटल हर्लिक्स जफत गरेको तथा म्याद नाघेको ग्यासका सिलिन्डरहरु सिल गरेको उनले बताए । त्यस्तै, यातायातको क्षेत्रमा ३०१ वटा यातायातका साधनलाई अनुगमन गरेकोमा तोकिएको भाडा दरभन्दा बढी भाडा असुल गर्ने २०१ वटा यातायातका साधनलाई ‘अन द स्पट’ कारबाही गरेको निर्देशक श्रेष्ठले जानकारी दिए ।

जफत गरिएका अखाद्य वस्तु नष्टगर्ने कार्यको शुभारम्भ गर्दै वाणिज्य तथा आपूर्तिमन्त्री दिपक बोहराले प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठन भएपछि बजारमा म्याद गुज्रेका अखाद्य वस्तुको विस्थापन तथा मूल्यवृद्धि नियन्त्रण गर्न विभिन्न १० वटा नियमन निकाय संलग्न टास्कफोर्स गठन गरी स्वास्थ्य, खाद्यवस्तु, यातायातका क्षेत्रमा अनुगमन गरी कैफियत फेला परेका व्यवसायीलाई कानूनी कारबाहीको घेरामा ल्याएको जानकारी दिए। उनले कैफियत देखिएका बस्तुको जफत तथा त्यसमा संलग्नले कानुनले निर्धारण गरेको सजाय पाउने बताए । मन्त्री बोहराले महँगी विनाको दशैँ मनाउन सरकारले ग्यासको मूल्यमा प्रति सिलिन्डर रु ५० घटाएको, चिनीमा मूल्य घटाउने तयारी भइरहेको तथा आपूर्तिमा सहजता ल्याउन मूल्य नियन्त्रणका कदम चालेको बताए ।

उनले म्याद नाघेको सामान तथा वस्तु आज झन्डै रु ३ करोड बरावरको सामान खाल्डोमा पुरेर नष्ट गरेको चर्चा गर्नुभयो । उहाँले एउटै फर्मबाट रु १ लाख ३१ हजार बराबरको अखाद्य वस्तु जफत गरेको जानकारी पनि दिए । उनले जिल्लामा पनि बजार अनुगमन गर्न ७५ जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बजार अनुगमन प्रक्रिया सुरु गर्ने जानकारी दिए । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव श्रीधर केसीले बजार अनुगमन कार्य निरन्तर जारी रहने बताउँदै मूल्यवृद्धि नियन्त्रणलगायतका थुप्रै काम गर्न अझै बाँकी रहेको चर्चा गरे ।

विभागका महानिर्देशक गोकुलप्रसाद घितालले प्रधानमन्त्रीको निर्देशनअनुसार बजार अनुगमनलाई प्रभावकारी बनाउने काम भइरहेको बताउँदै यसबाट व्यवसायीहरुले बजारमा स्वस्थ र खाद्य उपभोग्य वस्तुमात्र बेच्ने बानी गर्ने विश्वास व्यक्त गरे । रासस

No comments

Powered by Blogger.